Friday, October 31, 2008

गर्नैपर्छ वेदको अध्ययन

वेद विश्वको विधान हो भन्नुमा अत्युक्ति हुनेछैन । 'वेद'को अर्थ हो ज्ञान । ज्ञान भनेको जान्नु हो । जान्नका निमित्त सिक्नु पर्दछ । सिक्नुलाई शिक्षा भनिन्छ । शिक्षा प्राप्त गरिसकेका व्यक्तिहरू शिक्षित कहलाउँछन् र वास्तवमा उनीहरू शिष्ट बन्दछन् । यही शिष्ट शब्दमा आचार समेत जोडिएपछि बन्छ- शिष्टाचार । आचार शब्द आङ्ग उपर्सग पूर्वक चर धातुबाट बनेको र आङ्गपूर्वक चर धातुको गर्नु अर्थ भएको हुनाले आचारको अर्थ हो- गरिने कुरा । शिष्टहरूले गरिने कुरा शिष्टाचार र गर्न नहुने कुरा अनाचार भन्ने हाम्रो परम्परा छ ।

यो कुरा यसरी गर्नु भनेर सूत्र (छोटकरी) रूपमा सिकाउने र त्यसको विपरीत व्यवहार नगर्नलाई व्यवस्था गर्ने लिखत वा ग्रन्थलाई विधान भन्ने चलन छ । एकै वाक्यमा बताउनुपर्दाखेरिमा, वेद विश्वको विधान हो किनकि यसले शिष्टाचारको ज्ञान दिन्छ र मानव समाजलाई अनाचारबाट जोगाउँछ ।

वेदमा दुई किसिमको शिक्षा पाइन्छ । एक, व्यावहारिक र अर्को, पारमार्थिक । व्यावहारिक शिक्षा सूत्र रूपमा पाइन्छ र पारमार्थिक शिक्षा विस्तृत रूपमा । यसको रहस्य केभने - व्यावहारिक वस्तुहरू बदलिइ रहन्छन् । बदलिइ रहने वस्तुको विशेष बयान गर्नु व्यर्थ कुरा हुन्छ । पारमार्थिक वस्तु बदलिँदैनन्; ती सधैं एकनाश रहन्छन् । परमार्थ (सत्य-वस्तु) को पत्ता लगाउने हुनाले यिनलाई पारमार्थिक भनिएको हो र यस सम्बन्धी शिक्षालाई पारमार्थिक शिक्षा भनिन्छ । पारमार्थिक शिक्षाको अर्को नाम हो- अध्यात्मज्ञान

वैदिक शास्त्रको विशेषता कस्तो छ भन्ने बताउनकोलागि तलको एक श्लोक हेरौं-


होलान् शास्त्र अनेक तैपनि सबै एक देश एक कालको,

गर्छन् वर्णन लोकमा त्यस घडी चाल्फाल जस्तो थियो,

हेर्नोस् वेद-पुराण हिन्दू-इतिहास र्सवत्र दृष्टि दिंदै,

भन्छन् भूत भविष्यका सकल बात् हाल्का कुरा संगसँगै ।।


वेदको अर्को नाम श्रुति हो । वेदलाई श्रुति किन भनेको ? वेदलाई हाम्रा पुर्खाहरूले र्सवमान्य किन ठाने ? के अब पनि वेद र्सवमान्य ठहर्न सक्छ त ? यस्ता प्रश्नहरूमा विचार गर्नु सामयिक नै हुनेछ । यसकोलागि वेदको अध्ययन गर्नैपर्दछ । मेरो करबहु प्रार्थना छ : साँचो नपाएर आफ्ना ढुकुटीको सम्पत्ति


झिक्न नसकी अरुसँग भिख् माग्नुभन्दा त साँचो खोल्ने उपाय गरेर आफ्नै सम्पत्तिको भोग गर्नु बेस भएझैं वेदको राम्रो विचार गरी तदनुकूल व्यवहार गर्न सिक्नु बेस हुने हुनाले हाम्रो मुख्य ग्रन्थ वेदको राम्ररी मनन गरौं ।


हिन्दू-संस्कृति के रहेछ यसको मर्मज्ञ बन्नु छ त,

प्रेमले हेर्नू हवस् श्रुति-स्मृति पुराण गीता महाभारत,

श्री रामायण मन्त्र-तन्त्रहरूले संपन्न मन आगम,

आर्य श्रेष्ठ महषिर्का कृतिहरू षड अंग षड् दर्शन ।।


सर्वप्रथम हामी 'साङ्ग-श्रुति' बारेमा चर्चा गरौं । साङ्ग-श्रुति भनेको के हो ? वास्तवमा ६ अंगले सहित वेदलाई साङ्ग-श्रुति भनिन्छ । ती ६ ओटा अंगहरू हुन्- शिक्षा, कल्प, व्याकरण, निरुक्त, ज्योतिष, र छन्द । यी वेदका ६ ओटा अंगहरू हुन् । यदि यी अंगलाई मानव शरीरका अंगसँग दाँजेर बुझन खोज्ने होभने शिक्षा वेदको घ्राणेन्द्रिय (नाक) हो; कल्प वेदको हात हो; व्याकरण वेदको मुख हो; निरुक्त वेदको कान हो; ज्योतिष वेदको आँखा हो; र छन्द वेदको पाउ हो ।

(१) शिक्षा ग्रन्थमा सार-स्वर सहित वेदका मन्त्रहरू पढ्ने तरिका सिकाइएको छ । प्रत्येक वेदका भिन्न भिन्न शिक्षा ग्रन्थ छन् ।

(२) कल्प ग्रन्थ दुई प्रकारका छन्, श्रौत कल्प र स्मार्त कल्प । श्रौत कल्पमा ब्राहृमण नामक वेद-भागमा बताइएका कर्मको प्रयोगका विधिहरू बताइएका छन् । स्मार्त कल्पमा उपनयना आदि संस्कार र अरुहरू स्मार्त कर्मका विधान बताइएका छन् । यी कल्प ग्रन्थपनि प्रत्येक वेदका भिन्न भिन्न छन् ।

(३) व्याकरणमा धातु, प्रत्यय सन्धि, समास, लिङ्ग, आदि भेदहरूद्वारा शब्दहरूको साधन गरिएको छ । व्याकरण जान्नाले कुन शब्द शुद्ध हो र कुनचाहिँ शुद्ध हो भन्ने पूर्ण ज्ञान हुन्छ । बोल्दा शुद्ध र अशुद्ध शब्दको ज्ञान हुनु परम् आवश्यक हुन्छ । पाणिनीय व्याकरण, सारस्वत व्याकरण, ऐन्द्र व्याकरण, चान्द्र व्याकरण, काशकृत्स्य व्याकरण आदि अनेक व्याकरण थिए; किन्तु यस समय कताकति सारस्वत व्याकरण र र्सवत्र पाणिनीय व्याकरणको प्रचलन छ ।

(४) निरुक्तमा शब्दहरूको ठीक ठीक अर्थ सुत्पत्तिपूर्वक गरिएको छ । अर्थात्, यसले वेदका ऋचाहरूको ठीक अर्थ लगाउन मद्दत गर्दछ । पहिले अनेक निरुक्तहरू थिए भनिन्छ, परन्तु हाल यास्काचार्य रचित निरुक्त उपलब्ध छ । वेदमा प्रयुक्त शब्दहरूको ठीक अर्थ गर्न नसकेकाले अचेल गलत किसिमबाट विश्लेषण गरिएकोपनि देखिन्छ । यसो भएको निरुक्तको ज्ञान नहुनालेनै हो ।

(५) ज्योतिष शास्त्रका तीन भाग छन्- गणित, जातक र संहिता भाग । गणित भागमा योग (जोड), अन्तर (घटाउ), भाग, वर्ग, वर्गमूल, घन, घनमूल आदिको ज्ञान रहेको छ । यसकासाथै यस भागमा अनुयोग (देश, दिशा र कालको ज्ञान), चन्द्रग्रहण, सुर्यग्रहण, उदय, अस्त, छायाधिकार आदि बारेमा पनि ज्ञान समेटिएको छ । जातक भागमा राशिभेद, ग्रहयोनी, वियोनिज (मानवेतर जन्मफल), गर्भाधान, जन्म, अरिष्ठ, आयुदाय, आजीविका, अष्टकवर्ग, विभिन्न योगहरू (राजयोग, नाभसयोग, चन्द्रयोग, प्रव्रज्यायोग), राशि शील, ग्रहदृष्टिफल, ग्रहहरूको भावफल, अनिष्टफल, निर्याण -मृतविषक विचार), स्त्रीजातक फल, द्रेस्काण आदि बारेमा ज्ञान रहेको छ । संहिताभागमा ग्रहगति, वर्षक्षण, तिथि, दिन, नक्षत्रयोग, करण, मुहूर्त, सम्पूर्ण लग्न तथा ऋतुदर्शनको विचार, गर्भाधान, पुंसवन, सीमन्तोनयन, जातकर्म, नामाकरण, अन्नप्राशन, चूडाकर्म, कर्णबेध, उपनयन, वेदारम्भ, समापवर्त्तन, विवाह, प्रतिष्ठा, गृह लक्षण, यात्रा, गृह प्रवेश आदिका बारेमा बताइएको छ ।

ज्योतिष विषय बडो गम्भीर, आश्चर्यलाग्दो साथसाथै मनोरञ्जक पनि छ । यसका सहायताबाट मानिसको भूत, भविष्य, वर्तमान जान्न सकिने हुन्छ । यस विषयमा अनेक विद्वानहरूले महत्वपूर्ण ग्रन्थहरू लेखेका छन् । जुनसुकै कर्मपनि ठीक समयमा गर्नुपर्दछ र गलत समयमा गरिएको कर्म गलत फलदायक हुन्छ भन्ने ज्योतिषको निर्णय छ ।

(६) छन्दग्रन्थमा मगण आदि भेदले पद्य रचना गर्ने र रचित पद्यहरू उच्चारण गर्ने तरिका बताइएको छ । गायत्री आदि वैदिक र आर्या आदि लौकिक छन्दहरू छन् । छन्दग्रन्थमा पिङ्गलको छन्दसूत्र प्रधान मानिएको छ । वेदका ऋचाहरूको उच्चारण सार-स्वर सहित गर्नुपर्ने नियम छ । वैदिक ऋचा पाठ गर्नकालागि छन्दको ज्ञान जरुरी छ ।


यसरी ६ अंगहरू - शिक्षा, कल्प, व्याकरण, निरुक्त, ज्योतिष, र छन्द -ले सहित वेदलाई 'साङ्ग-श्रुति' भनिन्छ । वेदलाई 'श्रुति' किन भनियो त भन्दाखेरीमा सृष्टिको आदिमा ब्रहृमाजीले आफ्ना हृदयभित्र परमेश्वरको निःश्वासले सुने; ब्रहृमाजीबाट प्रजापतिहरूले सुने र प्रजापतिहरूबाट ऋषिहरूले सुने । यस क्रमले श्रवण परम्पराबाट यो ज्ञान चल्दै आयो । तर्सथ वेदलाई श्रुति पनि भनिएको हो । आजका समयमापनि शब्दमार्गी योगीहरू कान बन्द गरेर अनाहद नाद सुन्छन् । यो अनाहद नाद नै अव्यक्त प्रणव ध्वनी हो । शास्त्रहरूमा बताइएको छकि प्रणवबाट गायत्री र गायत्रीबाट समस्त वेद प्रकट भएका हुन् । वेदमा तीन काण्ड (ज्ञानकाण्ड, उपासनाकाण्ड र कर्मकाण्ड) को प्रतिपादन गरिएकाले यसलाई 'त्रयी' पनि भनिन्छ ।


पं. रुद्रमणि उपाध्याय अधिकारी

- छाङ्ग पिपलटार, तनहूँ

Read more...

Tuesday, April 22, 2008

मेरो इच्छा

विश्व शान्त होस्, दैव शान्त होस्
आत्म शान्त होस्, भ्रान्त क्वै नहोस् ।।
मर्त्यमात्र यो अमृततत्वको
सतत पान गरी अमर भै रहोस् ।। १ ।।
सबै जन सुखी होऊन्
निरोगी भै रहून् सब ।।
सबै कल्याण नै देखून्
कोही दुःखी नहोस् अब ।। २ ।।

Read more...

पुकार

प्यारा सज्जनवर्ग हो, विनयले क्यै भन्दछु सुन्नुहोस्
साँचो हो कि झुठो विपक्ष नबनी मस्तिष्कले गुन्नुहोस् ।। १ ।।
हाम्रा पूर्व महर्षिको असल त्यो विज्ञानले सम्मत
सच्चा लौकिक पारलौकिक दुबै कल्याणदाता मत
अैल्ये भौतिकलाभमा रत बनी र्सलक्क छोडिदियौं
हाम्रो आज समाज बिग्रन गयो पाश्चात्य शिक्षा लियौं ।। २ ।।
जस्का गोत्रज हामी हौं ती मुनिको आचार कस्तो थियो
के भन्थे कुन धर्ममा रत थिए हो जन्म कुन देशको
यस्को याद नराखी कत्ति उनको छोडेर सारा स्थिति
पक्रयौं आज विधर्मीको मत भने बिग्रेछ हाम्रो मति ।। ३ ।।
जस्तै बिघ्न परोस् विपत्तिहरुको वर्षा हवोस्तापनि
आफ्नो धर्म बचाउनु जतनले भन्थे अघिका मुनि
त्यस्मा भित्री रहस्य के छ नबुझी त्याग्दा त्यसै त्यो स्थिति
पर्ला आखिरमा विपत्ति उसले गर्नेछ धेरै खति ।। ४ ।।
अैल्ये हाल विकासवादहरुमा सुन्दा कुरा खास छ
त्यस्मा खुब गडी विचार गरदा सत् धर्मको नाश छ
छोडी आफनु सनातनी चलन त्यो विज्ञानले सम्मत
लाग्दा आज अनार्यका चलनमा देखिन्न कल्याण त ।। ५ ।।
हाम्रा ज्ञान निधान मान्य अघिका पुर्खाहरुको स्थिति
कस्तो वेश रहेछ शास्त्रहरुमा हेरौं विचारौं अति
हाम्रै उन्नतिका निमित्त उनले कयौं रचे पद्धति
त्यस्को हाल यथार्थ ख्याल नहुँदा हाम्रो भयो दुर्गति ।। ६ ।।
हाम्रो बेस सनातनी चलनले जो हुन्छ देशोन्नति
पक्का हुन्न विधर्मीका चलनले पार्दिन्छ सारा खति
जस्तै देह विभिन्न भाग रहदा प्रत्यङ्गले भिन्नझैं
भिन्नै कर्म गरिरहन्छ सबले गर्दैन एकै कबै ।। ७ ।।
हाम्रा वेद र काव्य शास्त्रहरुले पत्ता लगाए जति
पत्ता खास लगाइदैन अहिले विज्ञान मात्रै पढी
विज्ञानान्वित ज्ञानले मुलुकमा सत् शान्ति फैलाउँछ
सत्यज्ञान-विहीन केवल हुँदा विज्ञान नाश पार्दछ ।। ८ ।।
जस्तो देहविषे छ मुख्य मुख यो त्यस्तै सबै विश्वको
मुख्य स्थान पवित्र भारत र औ यो पुण्य नेपाल हो
खाँदामा मुखबाट देहभरको रक्षा भएझैं गरी
धान्दा धर्म सुशान्ति सबमा फैलिन्छ विश्वैभरि ।। ९ ।।
तस्मात् वेद मनुस्मृति प्रभृति सत्शास्त्रादि हेरिकन
विज्ञानान्वित ज्ञान हासिल गरी छोडौं विधर्मीपन
गर्दै भौतिक वस्तुको बढि बढि उत्पत्ति विज्ञानले
ल्याऔं शान्ति समस्त विश्वभरमा सत्सङ्ग-सत्ज्ञानले ।। १० ।।

Read more...

गायत्री मन्त्र

ॐ भूर्भुवः स्वः । तत्सवितुर्वरेण्यं, भर्गो देवस्य धीमहि, धियो यो नः प्रचोदयात् ।


अन्वयः-

ॐ, भूः, भुवः, स्वः, सवितुः, देवस्य, वरेण्यम्, भर्गः, तत्, धीमहि, यः, नः, धियः, प्रचोदयात् ।


अर्थ -

ॐ - जाग्रत, स्वप्न, सुषुप्ति तीनै अवस्थामा साक्षी स्वरुप भै रक्षा गर्ने,
भूः - पृथिवीमा अग्नि स्वरुपले रहने,
भुवः - आकाशमा वायु स्वरुपले रहने,
स्वः - र्स्वर्गमा सूर्य स्वरुपले रहने, (हे परमेश्वर !)
सवितुः - समस्त विश्वमा चेतन स्वरुपले रही सत्कार्यमा प्रेरणा दिने,
देवस्यः - अनन्त कोटि ब्रह्माण्ड रचना गरेर अनन्त लीला गर्ने (हजुरको)
वरेण्यम् - सबैले वरण (स्वीकार) नगरी नहुने,
भर्गः - जन्म र मरणको बीज भुटेर मुक्ति दिने,
तत् - त्यो ज्योति स्वरुपको,
धीमहि - ध्यान गरिरहन सकौं, (सधैं सम्झना गरिरहन सकौं )
यः - जुन हजुरले,
नः - हामी सबैको,
धियः - चित्तका वृत्तिहरुलाई,
प्रचोदयात् - असल कर्ममा लागि रहने प्रेरणा दिनुहोस् ।

Read more...